काठमाडौं । नेपालमा पुरुषको दाँजोमा महिला पर्यटकको बसाइ अवधि लामो रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्च प्रवृत्ति सम्बन्धी विशेष अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
अध्ययन अनुसार नेपाल आएर गण्डकी प्रदेश भ्रमणमा पुगेका पर्यटकको नेपालमा औसत बसाई अवधि २२ दिन देखिएको छ । जसमध्ये गण्डकी प्रदेशमा मात्र १२ दिन औसत बसाई अवधि रहेको पाइएको छ ।
अध्ययनले पुरुषको तुलनामा महिला पर्यटकको औसत बसाइ अवधि उच्च रहेको देखाएको छ । नेपाल भ्रमण गर्ने महिला पर्यटक औसत २५ दिन र पुरुष पर्यटक औसत २० दिन बस्ने गरेको अध्ययनको निष्कर्ष छ । गण्डकी प्रदेशमा समेत पुरुषको ११ दिन र महिलाको १३ दिन बसाइ अवधि रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो अध्ययनमा ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकको नेपाल बसाइ अवधि सबैभन्दा धेरै रहेको देखिन्छ । यो उमेर समूहका पर्यटक औसत २५ दिन नेपाल बस्ने गरेको पाइएको छ ।
गण्डकी प्रदेशमा १४ दिन यो उमेर समूहका पर्यटकको औसत बसाइ अवधि रहेको छ । ५५ देखि माथिको उमेर समूहका पर्यटकको गण्डकी प्रदेशमा ९ दिन र २० वर्षसम्मका पर्यटकको औसत बसाइ अवधि १९ रहेको देखिन्छ । बसाइ अवधिलाई महादेश अनुसार हेर्दा ६ महादेशमध्ये सबैभन्दा धेरै दक्षिण अमेरिकाबाट १९ दिन रहेको देखिन्छ । सबैभन्दा कम भने एसियाबाट ९ दिनमात्र बस्ने गरेको पाइएको छ ।
गण्डकी प्रदेशमा भेटिएका पर्यटकमध्ये मनाङमा भेटिएका पर्यटकले औसत बसाइ अवधि १८ दिन रहेको बताएका थिए । गोरखामा भेटिएका पर्यटकले भने औसत ४ दिन बसाइ अवधि रहेको बताएका छन् । राष्ट्र बैंकले कुल ४ सय पर्यटकको प्रतिक्रिया लिँदै यो अध्ययन प्रतिवेदन तयार पारेको जनाएको छ ।
देशभरिको बसाइ अवधि औसतमा भने सन् २०२२ सम्म १३.१ दिन रहेको पर्यटन मन्त्रालयको तथ्यांक छ । पोखरामा मात्र सबैभन्दा धेरै जर्मनीका पर्यटकले खर्च गर्ने र सबैभन्दा कम थाई पर्यटकबाट खर्च भएको देखिन्छ ।
यस प्रदेशमा आउने पर्यटकमध्ये धेरै युरोपेली छन् । जसको प्रतिशत ४६.२५ प्रतिशत छ । दोस्रो स्थानमा एसियाली छन् । यो महादेशका ३५.२५ प्रतिशत छन् । उत्तर अमेरिकी ११.५ प्रतिशत छन् । यस प्रदेशमा सबैभन्दा धेरै साहसिक क्रियाकलापका लागि आउने गरेको अध्ययनले देखाएको छ । यो कुल पर्यटकको ४०.१८ प्रतिशत हो ।