काठमाडौं । चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता–कार्यकर्ता बाहिरिने क्रम बाक्लै बनेको छ । गएको माघ २९ गते रास्वपाका नेता डा. प्रणयशमशेर राणाले पार्टी परित्याग गरेपछि सुरु भएको असन्तुष्टिको शृङ्खला विस्तार हुँदै गएको छ ।
यसपालिको चुनावमा ‘जल्दोबल्दो’ र वैकल्पिक शक्तिका रूपमा हेरिएको रास्वपामा चुनावकै मुखमा यस्तो लहर देखिनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । खासगरी चुनावी मैदानमा उत्रिने आकांक्षा राख्नेहरू सम्हाल्न नसकेपछि पार्टी दरार बढाउँदै लागेको देखिन्छ । दुई साताअघि राणाले ‘बेथितिका मूकदर्शक भएर बस्न विवेक र इमानले नमानेको’ उल्लेख गर्दै पार्टी परित्याग गरेका थिए । उनले उमेदवार चयन प्रक्रियामा पार्टीभित्रकै आन्तरिक ‘प्राइमरी’ चुनावमा चलखेल भएको तथा आर्थिक अपचलन भएको गम्भीर आरोप लगाए ।
राणा पार्टी छाडेको दुई साताभित्रै नेपाली कांग्रेस प्रवेश गरिसकेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा प्रतिस्पर्धा गर्दै उनले रास्वपालाई तेस्रो स्थानमा उभ्याएका थिए । राणाले पार्टीले बेतिथिको अन्त्य र थितिको सुरुवात गर्नुपर्ने न्यारेटिभलाई ठिक उल्टो बनाएको बताए । “सुरुमा पार्टीको नारा थियो, सुशासन, जवाफदेहिता । बेतिथिको अत्य र थितिको सुरुवात गर्नुपर्ने जुन न्यारेटिभ थियो । त्यसको ठिक उल्टो थितिको अन्त्य र बेतिथिको सुरुआत भयो,” राणाले भने ।
प्राइमरी चुनावका नाममा शुल्क उठाएर विशेष परिस्थिति भन्दै टारेको उनको भनाइ छ । “प्राइमरी इलेक्सनबाट आफ्नो उमेदवार आफैँ तयार गर्ने विधान बनेको थियो । जुन सिस्टम थियो त्यो भएन । चुनावमा विशेष परिस्थिति भनेर प्रक्रिया नै मिचेर मनोमानी गरियो,” राणाले भने ।
रुपन्देहीको निर्वाचनदेखि स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उमेदवार नउठाएको विषयलाई कोट्याउँदै बार बार प्रश्न खडा हुँदा पनि जवाफ नपाएपछि आफू नैतिकताको आधारमा पार्टी परित्याग गर्न बाध्य भएको उनले बताए । “प्राइमरी इलेक्सनको नम्बर देखाउँदै प्रक्रियामै भाग नलिएका मान्छेहरूको नाम आयो । आकांक्षीहरूले २५ हजार रुपैयाँ पनि प्रक्रियामा भाग लिनका लागि दिएका हुन् । प्राइमरी ईलेक्सन नगर्ने भए किन पैसा उठाएको त्यो फिर्ता दिनुपर्यो भन्ने विषयमा आवाज उठाएँ,” उनले भने, “कार्यविधि बनाएर न्युनतम १० प्रतिशत प्रवासमा नेपालीलाई दिने भनिएको थियो । अन्तिम बन्दसूचीमा कोही पनि भएन । त्यो त स्क्याम गरेकोजस्तो देखियो । आशा देखाएर दिन दहाडै ठगी भयो । उत्तर कतैबाट पनि नपाइसकेपछि, जवाफदेहीता आर्थिक पारदर्शिता नभएपछि बस्नै सकिएन ।”
आफू अनुकूल संगठन बनाउने र आफू अनुकूल नभएको संगठन भत्काउने चलखेल भएको उनले बताए । “रास्वपाले अहिलेसम्म अधिवेशन समेत गर्न सकेको छैन । आफू अनुकूल संगठन बनाउने र आफू अनुकूल संगठन भत्काउने गरियो । जनकपुरको बैठकले पनि विधान पनि परिवर्तन गरियो । आधारभूत कुरा भनेकै ग्रासरुट हो । चुनाव पनि भोटिङबाटै फाइनल हुनपर्छ भनेर जवाफ खोजेका थियौँ,” राणाले थपे । पार्टीलाई योगदान दिने लामो समय काम गरेका अनुभवी विज्ञहरूलाई अवसर नदिइ भाइरल सेलिब्रेटी भित्राएको पनि उनले बताए ।
नुवाकोटदेखि नवलपरासीसम्म असन्तुष्टि
रास्वपा नुवाकोटका नेता अशोककुमार थापाले पनि फागुन ९ गते पार्टीका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरे । संगठन निर्माणमा रातदिन खट्ने कार्यकर्तालाई पाखा लगाइएको आरोप उनको छ । उनी अघिल्लो संसदीय निर्वाचनमा नुवाकोट जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जको जिम्मेवारीमा थिए ।
त्यही दिन सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरीले पार्टीको ‘भनाइ र गराइ फरक’ रहेको तथा नेतृत्व अवसरवादी चंगुलमा फसेको आरोप लगाउँदै पार्टी छाडे । बर्दघाट नगरपालिका–१३ का सभापति जीतबहादुर हरिजन पनि रास्वपाबाट बाहिरिएका छन् ।
नवलपरासी सुस्ता पश्चिम–१ मा रास्वपाले विक्रम खनाललाई उमेदवार बनाएको थियो । खनाल कांग्रेसमै टिकटका दावेदार मानिन्थे । कांग्रेसबाट टिकट नपाएपछि उनी रास्वपा प्रवेश गरेका थिए । उनको प्रवेशसँगै पार्टीभित्र टिकटका आकांक्षीबीच असन्तुष्टि चुलिएको बताइएको छ । यसै क्षेत्रमा रास्वपाबाट महेन्द्र सेन (ठकुरी) उमेदवारका आकांक्षी थिए । उनलाई उमेदवार नबनाइएपछि असन्तुष्टि बढेको हो । सेनले अघिल्लो संसदीय निर्वाचनमा १२ हजार ४९९ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका थिए ।
धनगढी र बारा पनि प्रभावित
धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति इश्वरी बिष्ट पनि रास्वपाबाट बाहिरिएका छन् । उनी अघिल्लो निर्वाचनमा कैलाली–५ बाट उमेदवार थिए । मतदानको पूर्वसन्ध्यामा उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका हुन् । रास्वपा बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पनि फागुन ८ गते पार्टी छाडेका छन् । उनी अघिल्लो निर्वाचनमा बारा–४ मा प्रतिस्पर्धा गर्दा चौथो स्थानमा रहेका थिए ।
वाग्मती प्रदेश उपसभापति दिनेश हुमागाईंले फागुन ७ गते पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरे । उनले नेतृत्वमा नैतिक विचलन आएको, पार्टीभित्र विकृति मौलाएको, तल्लो तहका नेता–कार्यकर्तामाथि ‘दास’ व्यवहार गरिएको तथा समर्पित कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाए ।
उनले पार्टी सदस्यता तथा उमेदवार आवेदन शुल्कको हिसाब सार्वजनिक नगरेको पनि दाबी गरेका छन् । हुमागाईं अघिल्लो निर्वाचनमा काभ्रेपलाञ्चोक–२ बाट प्रतिस्पर्धा गर्दै १० हजार ५३७ मतसहित तेस्रो स्थानमा रहेका थिए ।
मधेस प्रदेशमा पनि धक्का
मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले फागुन ६ गते रास्वपा परित्याग गरिन् । त्यही दिन उनी नेपाली कांग्रेस प्रवेश गरिन् । उनलाई कांग्रेस सभापति गगन थापा ले माला लगाएर स्वागत गरेका थिए ।
शर्माले पूर्ववर्ती पार्टीलाई ‘दागैदाग भएका बिगबिगी’ भएको टिप्पणीसमेत गरिन् । उनी पनि पार्टीको टिकटकी दावेदार थिइन् र रास्वपाको केन्द्रीय महिला तथा सामाजिक विकास समितिकी सदस्य थिइन् ।
खासगरी रास्वपामा ‘प्राइमरी’ नीति लिएपछि त्यसैको जगमा नउभिएपछि असन्तुष्टि बढाएको देखिन्छ । रास्वपाले पार्टीभित्र ‘प्राइमरी’ चुनाव गराएर उम्मेदवार छनोट गर्ने नीति लिएको थियो । आन्तरिक प्रतिस्पर्धामा भाग लिन २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो भने सदस्यता लिन एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, नेतृत्वले अनुकूल व्यक्तिलाई मात्र उम्मेदवार बनाएको आरोपसँगै यही नीति नै असन्तुष्टिको कारण बनेको देखिन्छ ।अघिल्लो संसदीय निर्वाचनसँगै उदाएको उदाएको रास्वपा आन्तरिक व्यवस्थापन र नेतृत्वमाथिका आरोपले चुनौतीको घेरामा पार्दै लगेको देखिन्छ ।
वित्त विभागका सदस्य आचार्यले पनि दिए राजीनामा
रास्वपाको केन्द्रीय वित्त विभागका सदस्य दिनेश आचार्यले महानमन्त्रीलाई सम्बोधन गर्दै शनिबार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । जनताको आशा अनुसार रास्वपा अघि नबढेको निष्कर्ष निकाल्दै उनले राजीनामा दिएका हुन् । “पब्लिकको आशा धेरै छ । तर, पार्टीभित्र त्यस्तो छैन । यो कुरा पब्लिकमा पुगेको छैन,” उनले भने ।
राजनीतिक यात्रामा विश्राम लिएको भन्दै उनले लेखेको पत्रमा भनिएको छ, “चुनाव घोषणापछि बलियो शक्तिका रुपमा उदाएका रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहका हरेक भाषण सुन्दा ९० प्रतिशत शब्दमा निर्माण, समृद्धि र चेतनाका कुराभन्दा आक्रोश, ईश्र्या, गाली, प्रतिशोध, अनि ठोक्छौँ, थुक्छौँ, भन्ने भावना मात्रै देखिन्छ । सबै दलहरू एक व्यक्तिको इच्छाअनुसार, चल्ने वा सानो गुट सिन्डिकेटद्वारा निर्देशित हुने गरेको देखियो । त्यहाँ नैतिकता र राजनीतिक विचारधाराको अपमान भयो कुनै स्थान रहेन ।”
केही महिना पहिले सुमना श्रेष्ठ र सन्तोष परियारले पनि असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए ।