काठमाडौं। भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा सर्वोच्च सहित २३ वटा अदालतमा आगजनी र तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने फुलकोर्टले निर्णय गरेको छ । आन्दोलनका नाममा अदालतमा आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन जाहेरी दिने सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशहरुको बैठक) ले निर्णय गरेको हो।
सर्वोच्चको फुलकोर्ट बैठकले निर्णय गरिसकेको र एक दुई दिनमै सबै अदालतले आ९आफ्नो जिल्लाको प्रहरी कार्यालयमा जाहेरी दिने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए।
सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ। आगजनीमा संलग्न कतिपयको पहिचान भइसकेको छ। सार्वजनिक भएका भिडिओ, फोटो र सीसी क्यामेराबाट पहिचान गर्न सकिने अवस्था छ।
आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ। सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन्। क्षतिको विवरणसहित जाहेरी दिने र सरकारले गठन गरेको जाँचबुझ आयोगमा पनि बुझाउने भएको हो। अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन्।