काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानमा आफ्नो घर रहेको स्वीकारेका छन् । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । “जापानमा मेरो नामको कम्पनी छैन । सेयरमा लगानी गरेको छैन । जापनमा मेरो घर छ । ४ आना पनि नभएको ठाउँमा घर । घर श्रीमतीको स्वामित्वमा छ,” थापाले भने, “राजदूत भएँ भने परिवारको कुरा त्यहाँको कानुनी व्यवस्थाअनुसार मिलाउँछु ।”
सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले नेपालको नियम कानुन पढेको दाबी गरे । नेपाल र जापानको हित हुन्छ भन्ने लागरे नै आफू आएको उनले जनाए । “सम्बन्धबिच्छेद, घर छोडेर खानुपर्ने जागिर होइन । जापनमा सबैले नेपाली भनेर हेर्छन् । जापानका बारेमा मैले बोलेको नेपालकै बारेमा छ,” थापाले भने ।
सुनुवाइका क्रममा समितिका धेरै सदस्यले उनको जापानी आवासीय अनुमतिपत्र (पीआर)का बारेमा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ दिँदै उनले भने, “पीआर भनेको हतियारधारी जसरी आएको छ । मेरो सबै फोटोमा ढाकाटोपी लाएको छु ।” आफूले नेपालबारे पुस्तक लेखेको उनले जनाए । उनले आफूमाथि लागेका आरोप स्पष्ट पार्ने क्रममा फाउन्डेसन शब्दले सरकारी सेवा नभएको जनाउने बताए ।
“म आफ्नो परिवार छाडेर बस्न सक्दिनँ । एकजना माननीयले सम्बन्धविच्छेदको कुरा उठाउनुभयो, दुःख लाग्यो,” थापाले भने, “यति भनाइ खानका लागि मेरो बाउ गएको रहेछ भन्ने ७–९ वर्षका बच्चाले के सोच्ला ? म नेपालको मायाले आएको हो ।” उनले पीआर पाएपछि नागरिकता नै नभएको भन्ने गलत बताए । उनले थप स्पष्ट पार्दै भने, “जापानले ७ वर्षको पीआर दिने हो । जापनमा रहेका श्रीमती र छोराछोरी नेपाली नागरिकता छ, पीआर भिसा हो ।”