काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उहाँ भारत जान लागेको स्रोतले जनाएको छ। दुई दिनसम्म भारतमा रहने उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।
उहाँले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । भारतले विगतमा सत्तारुढ दलका अध्यक्षको नाताले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यसैगरी औपचारिक भ्रमण गराएको थियो ।
देशको सबभन्दा ठुलो पार्टी तथा सत्तारुढ दलका सभापतिको नाताले अहिले रविलाई पनि भारत भ्रमण गराउन लागिएको भाजपा निकट एक नेताले बताउनुभयो। पछिल्लो समय भारत र नेपालबिच सम्बन्धमा दरार उत्पन्न भएको छ । लिपुलेकलगायत सीमा विवादका कारण भारतीय विदेशमन्त्री विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको निमन्त्रणा स्विकार गरेपनि उहाँ कहिले भ्रमणमा जाने भन्ने निश्चित छैन ।