काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाल तेक्वान्दोमा पदकविहीन बनेको छ । शुक्रबार जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा भएको पुरुष क्योरुगी ८० केजीमुनिको प्रतिस्पर्धामा अभिषेक बराल उज्वेकिस्तानका जसुरबेक जयसुनोभसँग २–० ले पराजित भए ।
अभिषेकले पहिलो राउन्ड २–१२ तथा दोस्रो राउन्ड २–१९ ले गुमाए । यससँगै नेपालको पदक सपना समाप्त भएको हो । तेक्वान्दोलाई पदक जित्न सक्ने खेलका रूपमा हेरिएको थियो । तर, नेपाली खेलाडीको प्रदर्शन खराब रह्यो ।
यसअघि पुम्सेको महिला एकलमा स्वस्तिका तामाङ तथा पुरुष एकलमा युवराज राना पहिलो चरणमै सीमीत बनेका थिए ।