काठमाडौं । सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । पछिल्लो करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार (असोज १६ गते) घोषणामा उनले बम्पर प्राप्त गरेका हुन् ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरे ।
“नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो,” अर्थ मन्त्रालयले जानकारी दिएको छ । उनलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।
आन्तरिक राजस्व विभागका अनुसार, असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।
जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या २ लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो । असोज १ देखि १५ गतेसम्मको दैनिक एक लाखका दरले आउने उपहार विजेताहरूको कुपन पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।