काठमाडौं। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले सामना गरेका राजनीतिक सङ्कट राष्ट्रिय सहमतिबाट मात्रै समाधान गर्न सकिने बताउनुभएको छ। विगतमा पनि राष्ट्रिय सहमति र समझदारीबाटै समाधान भएको स्मरण गराउँदै उहाँले वर्तमान सङ्कटको निकास पनि त्यही बाटोबाट खोज्नुपर्ने बताउनुभयो।
शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उहाँले हालको अवस्थालाई भयानक एपिसोडको संज्ञा दिँदै यसबाट पार पाउन सबै दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिनुभयो। प्रचण्डले देशको स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षाका लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको बताउनुभयो।