काठमाडौं। मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ। राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको बताउनुभयो।
स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको उहाँको भनाई छ। त्यसको परिणाम चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको जिकिर गर्नुभयो।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैँले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु । स्वास्थ्य सेवामा सुधार हुँदा हुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ । हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ । संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।’
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार भएको जिकिर गर्नुभयो। दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुसीको विषय भएको उहाँले बताउनुभयो।