इलामको उच्च पहाडका विद्यालय विद्यार्थी अभाव

Nagarik Sewa 289+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

इलाम । विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामको भारतीय सीमावर्ती गाउँका बालबालिका भारतका विद्यालयमा पढ्न जान बाध्य भएका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यतामा परेका हुन् ।

पातलो बस्ती भएको र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । एक दशक यता विद्यालय बन्द भएपछि बालबालिकालाई पढाउन प्राथमिक तहबाटनै भारतीय शहर पठाउनुपर्ने बाध्यता रहेको छ । भारतीय शहरमा छोराछोरीसँगै अभिभावक पनि बस्नुपर्ने बाध्यता रहेको हो ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको ९ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालयमा विद्यार्थी अभाव भएको भन्दै २०७२ सालदेखि बन्द भएको थियो । विद्यार्थी कम भएर विद्यालय बन्द भएपछि अहिले इलाम जौबारीका बालबालिका भारतको मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्न जाने गरेका छन् ।

जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५, कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को विद्यालय पनि बन्द भएको छ । विद्यालय बन्द भएपछि लेकाली क्षेत्रका बालबालिकालाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको हो । लेकाली क्षेत्रमा विद्यालय चलाउने गरि विद्यार्थी अभाव भएपछि सीमा क्षेत्रका बालबालिका भारतीय विद्यालय अध्ययन गर्दै आएका छन् । सीमा क्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेको आफूले पाएको नेपाल पत्रमार महासंघ इलामका अध्यक्ष बिप्लव भट्टराईले बताउनुभयो ।

कतिपय भने बालबालिका पढाउनकै लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बसोबास गर्नुपर्ने बाध्यता रहेको छ । लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । जनघनत्व कम भएको र भारतीय विद्यालयमा आफ्ना छोराछोरी भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएका हुन् । जसले गर्दा यहाँका विद्यार्थी मात्र हैन अभिभावकलाईसमेत मर्का परेको छ । त्यसैले नेपाल तर्फ सबैलाई पायक पर्ने गरी एउटा विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार