काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले काउन्सिललाई स्वायत्त र स्वतन्त्र संयन्त्रको रूपमा विकास गरिए पनि सरकारसँग कुनै न कुनै रूपमा जोडिनुपर्ने भएको कारण सरकारबाट टाढा राख्न नसकिने स्पष्ट पार्नुभएको हो।
मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त संयन्त्र भए पनि सरकारबाट पूर्ण रूपमा अलग भएर बस्ने कुरा सम्भव नहुने उनको भनाइ छ। मन्त्री गुरुङले सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा आवश्यक भएकाले त्यसका लागि स्वतन्त्र संयन्त्रको विकास गर्न खोजिएको ऐन निर्माण लागिएको पनि बताए।
मन्त्री गुरुङले भन्नुभयो– ‘मिडिया काउन्सिलको बारेमा स्वतन्त्र र स्वायत्त हुनुपर्यो भन्ने कुराहरू उठिरहेको छ । यो स्वतन्त्र र स्वायत्त नै हो । सञ्चार क्षेत्रलाई मर्यादित बनाउने कुरा पनि छँदैछ । तर स्वतन्त्रको नाममा सरकारबाट पुरै अलग भएर बस्ने कुरा पनि होइन । सञ्चार क्षेत्रले कहीँ न कहीँ सरकारसँग जोडिनैपर्छ । सरकारको हस्तक्षेप र नियन्त्रण हुनसक्ने भन्दै हामीले स्वतन्त्र संयन्त्रको विकास गर्न खोजेको हो । त्यसैले मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र जिम्मेवार भएर कसरी काम गर्ने भन्ने कुरालाई महत्त्वपूर्ण ढङ्गले हेर्नुपर्छ । तर सरकारसँग केही न केही जोडिएको चाहिँ हुनुपर्छ ।’
मन्त्री गुरुङले सामाजिक सञ्जालको माध्यमबाट हुने साइबर अपराधको अवस्था गम्भीर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो।
राष्ट्रियसभाबाट पास भएर आएको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ। समितिको सोमवार मंगलबारको बैठकमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने समितिको तयारी छ ।