काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी/व्यवसायीका समस्याप्रति ध्यानाकर्षण गराएको छ । महासंघले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्याउन तीन प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग आग्रह गरेको हो । भन्सार नाकामा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्या समाधान गरी आयात–निर्यातलाई सहज बनाउन ध्यानाकर्षण गराइएको पनि महासंघले जनाएको छ ।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताए । उनका अनुसार, अहिले व्यापार/व्यवसाय उक्सिने स्थितिमा छैन । यद्यपि, नयाँ सरकार बनेपछि व्यवसायीमा एउटा आशाको किरण भने जागेको छ ।
“समग्रमा अहिले व्यापार–व्यवसायको अवस्था एकदमै नाजुक छ । अहिले नै व्यवसाय ह्वात्तै उक्सिने स्थिति नभए पनि हामी एउटा परिवर्तनको मोडमा छौँ,” उनले भने, “यद्यपि, व्यवसायीमा एउटा आशाको किरण भने पलाएको छ ।”
अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उनको भनाइ छ । कटुवालका अनुसार, देशभरका व्यवसायीलाई खड्किएको एमआरपीको विषयमा अर्थमन्त्री वाग्लेसँग छलफल भएको छ । हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुमा उपभोक्तालाई सहज हुने गरी कसरी एमआरपी व्यवस्थापन गर्ने विषयमा पनि महासंघले सुझाव दिएको कटुवालले जानकारी दिए । उनका अनुसार, महासंघले स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीति स्पष्ट नभएको भन्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा लागु गर्न अर्थमन्त्रीलाई भनेको छ ।
पञ्चायतकालदेखि नै केही सीमित संगठनको मात्रै अर्थतन्त्रसम्बन्धी सुझाव समितिमा वर्चस्व रहेको भन्दै महासंघले अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्न माग गरेको छ । यस विषयमा अर्थमन्त्रीले अब त्यस्तो नहुने र सबैलाई सहभागी गराइने प्रतिक्रिया दिएका कटुवालले जानकारी दिए ।
कटुवालका अनुसार, अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने आश्वासन दिएका छन् ।