काठमाडौं। आइतबार भक्तपुरको गुण्डुमा नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ। जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँकी पत्नि राधिका शाक्यको उपस्थिति थियो।
कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’
उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन्। नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् । ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उहाँले भन्नुभयो।
पुष्प श्रेष्ठ, अमित पौडेललगायतले अहिलेसम्म समन्वय गरेको उहाँले जानकारी दिनुभयो।