काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताउनुभएको छ।
रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो। प्रचण्डले सोसल मिडियाहरूमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजसरी सहर बजारमा हल्ला चलाइएको चर्चा गर्नुभयो।
अहिले सोसल मिडिया हेर्यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ । सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।
उहाँले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गर्नुभयो। प्रचण्डले अहिलेको समय सूचना र प्रविधि (आईटी) र एआईको भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो।
‘हामीले विचार गर्नुपर्छ । यो समय आइटीको हो । एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्याइराखेको छ । तर, त्यो सबैको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग हुने गरेको छ,’ प्रचण्डले भने, ‘हामीलाई लाग्छ, मोवाइल आफूले चलाइराखेको छु, आफूले समाचार पोष्ट गरिराखेको छु । तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै छ । उनीहरूले आफूले चाहेअनुसार नै बनाएका छन् ।