काठमाडौं । इंग्लिस क्लब युनाइटेडले यूईएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा अजरबैजानको सवाह एफकविरुद्ध ४–० को सहज जित दर्ता गरेको छ । बिहीबार ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन म्याथ्युस कुन्हा, कप्तान ब्रुनो फर्नान्डेज, बेन्जामिन सेस्को र लिसान्द्रो मार्टिनेजले एक–एक गोल गरे । खेलको २७औँ मिनेटमा कुन्हाको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ४२औँ मिनेटमा फर्नान्डेजले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको निर्धारित समय सकिन केही सेकेन्ड बाँकी रहँदा सेस्कोले गोल गरेपछि युनाइटेड ३–० ले अगाडि बढ्यो । दोस्रो हाफमा भने युनाइटेडले एक गोलमात्र थप्न सक्यो । मार्टिनेजले ६८औँ मिनेटमा टोलीका लागि चौथो गोल गरे । सबाहले कुनै दबाब बनाउन सकेन । टोलीको १० मध्ये मात्र एक प्रहार टार्गेटमा थियो ।
बिहीबारै इटालीको कोमोले जर्मन क्लब आरबी लाइपजिगविरुद्ध ४–० को जित निकाल्यो । कोमोले यही खेलमार्फत च्याम्पियन्स लिगमा डेब्यु गरेको हो । बायर्न म्युनिखले बोडो ग्लिमटलाई ५–० र लेन्सले साल्भिया प्रागलाई ३–१ ले पराजित गर्दा एस रोमा फनेरबाच तथा पीएसभी शख्तर डोनेक्ससँगको १–१ को बराबरीमा रोकिएका छन् ।