काठमाडौं। हिजो साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौंको वायु प्रदूषणमा केही राहत मिलेको छ । केही दिनअघि देखी काठमाडौं विश्वकै प्रदूषित सहर बन्दै आएकोमा बिहीबार बिहान भने प्रदूषणको मात्रा केही घटेको छ ।
आईक्यू एयरको बिहान ९ बजेर १५ मिनेट जाँदाको मापन अनुसार काठमाडौं हाल विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा पुगेको छ । हाल काठमाडौंको एक्यूआई १३० रहेको छ ।
यो स्वास्थ्य समस्या रहेका व्यक्तिहरूका लागि हानिकारक मानिन्छ । अझै पनि काठमाडौँको हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ९.४ गुणा बढी छ । हाल भारतको नयाँ दिल्ली यो सूचीमा शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर छ भने तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ ।