एसका महासचिव भुसाल र एमाले नेता रिमालबीच सामाजिक सञ्जालमा दोहोरी

Nagarik Sewa 4431+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले छाडेर हिँडेको पार्टीका बारे चासो दिनुभन्दा आफ्नै पार्टी बनाउन सुझाव दिएका छन् । कवितात्मक शैलीमा रिमालले भुसाललाई चुनौती र चेतावनी दिएका हुन् ।

नेकपा एसका महासचिव भुसालले शनिवार पत्रकार सम्मेलनमा एमालेभित्र उकुसमुकुस बढेको भन्दै अध्यक्ष पद छाड्न केपी शर्मा ओलीलाई सुझाव दिएका थिए ।त्यसको जवाफमा रिमालले लामो कविता शैलीमा ह्याउ भए आफ्नै घर बनाएर देखाउन र नेकपा एसभित्रको विवाद समाधान गर्न सुझाव दिएका छन् ।

इतिहासदेखि नै आफूहरू पार्टी संगठन बनाउन लाग्दा भुसाल सधैँ विवाद झिकेर बस्ने र पार्टी विभाजनमा लाग्ने गरेको दृष्टान्त पेश गर्दै रिमालले आदर्शका गफ र अर्ति उपदेशका पोका बोकेर उनी सधैँ हिँड्ने गरेको बताएका छन् ।

यस्तो छ घनश्याम भुसाललाई विष्णु रिमालको जवाफ

उनी पो निसासिए रे !

उनन्चालीस सालदेखि यता 

हामी निरन्तर पार्टी संगठन निर्माणमा लागि रह्यौँ,

पार्टी भित्र सधैँ  उनी—

विवादका लागि मौकाको खोजीमा रहे,  

अनवरत ‘किच–किच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै 

पार्टीले उचाइ छोएको बेला, 

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ, 

उनले विभाजनको बाटो रोजे ।

बाटो मात्र रोजेनन्, 

त्यस समूहलाई पनि बीचमै छोडे- अन्तै दौडिए।

‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो, 

पार्टीमा बहस–विवाद सुरु भयो ।

‘जोरीपारी’हरू– 

‘एमाले विनाको राजनीति’को खेतीमा लागे,

उनी ‘ओली विनाको एमाले’ भन्दै उफ्रिए ।

विभाजनको लागि कसैलाई उचाले– 

एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि, 

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—

छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।

सानै सही—

असहमत ‘अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे– 

‘बन साङ्ला’ले ‘घर साङ्ला’लाई लखेटे झैँ

उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थाले छन् फेरि–

‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ।’

अरे यार!

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !

आफ्नो घरको मझेरीमा, आँगनमा, 

गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा-भाँडा’हरू 

बज्न नदेऊ न !

ढोका खोलुन् कि–– छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा, 

जे गरुन्–बाल मतलब!


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार