पार्टीभित्रको अन्तर्विरोध र अन्य पार्टीसँग एकताका लागि समायोजनको भूमिका खेलिदिन प्रचण्डद्वारा महरालाई आग्रह

Nagarik Sewa 4431+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दिउँसो आफ्नै निवास खुमलटारमा बोलाएर पार्टीभित्रको अन्तर्विरोध र अन्य पार्टीसँग एकताका लागि समायोजनको भूमिका खेलिदिन उपाध्यक्ष कृष्णबहादुर महरासँग आग्रह गर्नुभएको छ। स्रोतले दिएको अनुसार प्रचण्ड र महराबिच स्थायी समिति बैठकको तयारी, पार्टीभित्र बढ्दै गएको अन्तर्विरोध, विप्लव नेतृत्वको नेकपा लगायत वामपन्थी शक्तिसँग एकताको विषयमा छलफल भएको थियो । 

पार्टीभित्र पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तर्विरोध देखिएको छ । त्यस्तै, विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया समेत अगाडि बढेको छैन ।

प्रचण्डका निकै विश्वास पात्र मानिने महरा पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठक अघिसम्म एकता समायोजन समितिका संयोजक हुनुहुन्थ्यो। अहिले एकता समायोजन समितिका संयोजक प्रचण्ड आफै हुनुहुन्छ ।

पार्टी निर्माण, विधि, पद्धतिको विषयमा गत वर्ष साउनमा बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ बुँदे प्रस्ताव पेस गर्नुभएको थियो। यसपछि पार्टीमा आन्तरिक सङ्घर्ष तीव्र बनेको थियो ।

माओवादीले साउन १६ गते स्थायी समिति बैठक बोलाएको छ। बैठकअघि नै आन्तरिक विवाद हल गर्न प्रचण्डले महरालाई अगाडि सार्नुभएको हो। प्रचण्डसँगको भेटबारे महराले केही बताउनुभएको छैन। उहाँले यसलाई सामान्य छलफल मात्र भन्नुभएको छ। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार