इनर्जी ड्रिंकलाई भारतमा कडाइ गरिँदै

Nagarik Sewa 4733+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

काठमाडौं । ग्लोबल पेय पदार्थ कम्पनीहरूले आफ्नो इनर्जी ड्रिंकको लेबल हटाउन दिइएको ९० दिनको समयसीमा बढाएर एक वर्ष पुर्‍याउन गरेको माग भारतको खाद्य सुरक्षा नियामक निकायले अस्वीकार गरेको छ ।  यस निर्णयले उद्योग क्षेत्रलाई प्रभावित परेको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार रक्सी, पेय पदार्थ र खाद्य कम्पनीहरूले आफ्ना उत्पादनमा लेबल कसरी प्रयोग गर्ने भन्ने विषयमा भारतले कडाइ गर्न थालेपछि पेप्सीको, रेड बुल, मनस्टर बेभरेज र अर्बपति मुकेश अम्बानीको रिलायन्ससहितका कम्पनीहरू भारतीय खाद्य नियामकको कारबाहीको सामना गरिरहेका छन् । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले जुलाईमा उच्च क्याफिनयुक्त पेय पदार्थबाट ‘इनर्जी ड्रिंक’ वा यस्तै प्रकारका विवरण हटाउन कम्पनीहरूलाई गोप्य रूपमा ९० दिनको समय दिएको थियो । 

यस्ता उत्पादनका लागि भारतमा कुनै छुट्टै मापदन्ड नरहेको र ‘इनर्जी ड्रिंक’ शब्द प्रयोग गर्नु नियमविपरीत हुने प्राधिकरणको भनाइ रहेको रोयटर्सले जनाएको छ । धेरै भारतीय राज्यहरूले यस्ता पेय पदार्थको मौज्दात ६० देखि ९० दिनभित्र बिक्री भइसक्ने जानकारी गराएका कारण भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण समयसीमा बढाउन सहमत नहुने निर्णयमा पुगेको ती सरकारी स्रोतले नाम नछाप्ने सर्तमा रोयटर्सलाई बताए । 

तर, उद्योग स्रोतहरूले बजारमा लाखौँ क्यान तथा बोतलहरू मौज्दात रहेको तथा आयातित क्यानका अर्डरसमेत बाँकी रहेको बताएका छन् ।  त्यसैले कम्पनीहरूले नयाँ नियम लागू गर्न कम्तीमा एक वर्षको समय माग गरेका थिए । उद्योग स्रोतहरूले भने मौज्दातको मात्रा ठूलो भएकाले राज्यअनुसार स्टकको पूर्ण विवरण तयार गर्न कठिन भएको बताएका छन् ।

राज्यस्तरमा भइरहेको धरपकडले कम्पनीहरू चिन्तित

विश्वभरका केही नियामक निकायमा ‘इनर्जी ड्रिंक’ ले स्वास्थ्यसम्बन्धी चिन्ता बढाएको छ ।  यस्ता पेय पदार्थमा उच्च मात्रामा क्याफिन, चिनी र टरिन हुने भएकाले नियामकहरूले चासो व्यक्त गर्दै आएका छन् ।  इंग्ल्यान्डमा आगामी वर्षको अप्रिलदेखि १६ वर्षमुनिका व्यक्तिलाई यस्ता पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाइने बताइएको छ । 

उद्योग स्रोतहरूका अनुसार पेय पदार्थका यी ठूला कम्पनीहरूले केही राज्य सरकारहरूले सुरु गरेको ‘इनर्जी ड्रिंक’ जफत गर्ने अभियान रोक्न केन्द्र सरकारसँग आग्रह गरिरहेका छन् । गत महिना भारतको राजस्थान राज्यले अनुगमन अभियानका क्रममा पेप्सीकोको ‘स्टिङ’, रिलायन्सको ‘क्याम्पा एनर्जी’ र ‘रेड बुल’का हजारौँ बोतल तथा क्यान जफत गरेको थियो । 

केन्द्र शासित प्रदेश लद्दाखको खाद्य सुरक्षा कार्यालयले पनि त्यहाँ रहेका यस्ता पेय पदार्थको मौज्दात जफत गर्ने जनाएको थियो ।  सन् २०१७ मा पेप्सीकोले ‘स्टिङ’ बजारमा ल्याएपछि भारतमा यसको बजार तीव्र रूपमा विस्तार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार