काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष सहुलियतसहितको सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि ल्याएको यस योजनाअन्तर्गत न्यून ब्याजदर र सहुलियत सेवा शुल्कमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म लागू हुने योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्।
योजनाअनुसार आधार दरमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरबाट सुरु हुने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। कर्जामा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नेछन्। साथै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध हुनेछ।
नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। सोही अवसरलाई लक्षित गरी बैंकले सीमित अवधिका लागि सहुलियतपूर्ण आवास कर्जा योजना ल्याएको हो। नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभरका २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत छिटोछरितो तथा गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ। ग्राहक सेवामा सुधार र आधुनिक बैंकिङ सुविधाको विस्तारसँगै बैंकिङ सेवालाई थप प्रभावकारी बनाउने लक्ष्य बैंकले लिएको छ।