वीरगन्ज। हिजो वीरगन्जमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि सर्वपक्षीय बैठक बोलाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आजै बिहान साढे १० बजेदेखि बस्ने गरी सर्वपक्षीय बैठक बोलाइएको हो ।
स्थानीय प्रशासनले शनिबार साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ। शोभायात्रामा सहभागीहरूले भने मुस्लिम समूहले मस्जिदबाट ढुङ्गा मुढा हानेपछि विवाद सुरु भएको आरोप लगाइएको प्रहरीको भनाई छ ।