काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली सच्याउन संसद्बाट ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक दलहरूलाई बेवास्ता गरेको भन्दै प्रचण्डले आपत्ति जनाए । प्रधानमन्त्री सबैको साझा हुने भन्दै दलहरूप्रतिको बेवास्ता अन्त्य गर्न प्रचण्डले प्रधानमन्त्रीलाई भनेका छन् । ''प्रधानमन्त्री आउनुहुन्छ र कसैको अनुहार नहेरी जानुहुन्छ, यो कस्तो खालको कार्यशैली हो ? हामी सबैले सहयोग गर्छौँ भनिरहेका छौँ, तर प्रधानमन्त्रीले कसैको अनुहारसम्म हेर्नु नपर्ने सोच राख्नु उचित होइन । यो तरिकाले अगाडि बढ्न सकिँदैन,'' उनले भने ।
प्रधानमन्त्रीले सबै पक्षलाई समेट्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनले बताए । यस्तै, नेकपा एमाले संसदीय दलका नेता बादलले प्रधानमन्त्री शाहको एकाङ्की शासन शैली परिवर्तन हुनुपर्ने बताए । सरकार संसद्प्रति पूर्णतः उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाहरूबारे प्रधानमन्त्रीले संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
विद्यमान संकटको सामना राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै उनले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित बहुपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए ।