काठमाडौं। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेला स्नान गर्न रूपन्देहीको देवदहबाट गएका तीर्थालुहरू चढेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिबार देवदहबाट गएका उनीहरू फर्किन क्रममा सोमबार बिहान गाडी दुर्घटनामा परेको हो ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटनामा परेको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जानकारी दिए।
यहाँबाट तीन-चारवटा गाडीमा तीर्थालुहरू कुम्भ मेला जानुभएको रहेछ। फर्किने क्रममा एउटा सानो गाडी दुर्घटनामा परेको खबर आएको छ। तीन जनाको मृत्यु भएको र अरू दुई–तीनजना घाइते भएको सुनेका छौं। अझै पूर्ण विवरण आएको छैन,’ उनले भने।
खरेलले दुर्घटनामा परी देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्माको मृत्यु भएको जानकारी दिए।