काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति बनाउन पनि अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको छलफल निष्कर्षविहीन भएको छ। संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ ।
संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए । तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गर्दै आएपछि कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल गर्दै आएको छ । रास्वपासँग कांग्रेसले गरेको यो दोस्रो छलफल हो ।
विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । यसबीचमा प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भए । यो पृष्ठभूमिमा सभामुख घिमिरेले अब संसदको अवरोध खुल्ने विषयमा पहल भइराखेको जानकारी सदनलाई गराएका हुन् ।