सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङको पक्षमा उर्लियो जनलहर

Nagarik Sewa 4376+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

काठमाडौं ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक–२ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। यहीबीच नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङको पक्षमा देखिएको व्यापक जनसमर्थनले निर्वाचनको माहोल थप रोचक र अर्थपूर्ण बनेको छ। गाउँ–गाउँ, टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका तामाङलाई स्थानीयले आत्मीय स्वागत गर्दै भरोसा र समर्थन व्यक्त गरिरहेका छन्।

घरदैलो अभियानका क्रममा देखिएको उत्साहजनक भीड, युवाहरूको उल्लेखनीय सहभागिता र ज्येष्ठ नागरिकहरूको खुला समर्थनले यसपटकको प्रतिस्पर्धामा उहाँ बलियो उम्मेदवारका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ। “हामीले उहाँको काम देखेका छौं, विकासको गति बुझेका छौं, त्यसैले फेरि अवसर दिन चाहन्छौं,” एक ज्येष्ठ मतदाताले घरदैलो कार्यक्रममै बताएका छन्। अर्का एक युवा मतदाताको भनाइ छ, “हामीलाई स्पष्ट अडान, पारदर्शिता र विकास चाहिएको छ—त्यसका लागि तामाङ नै सही विकल्प हुनुहुन्छ।”

वि.सं. २०७० र २०७४ को निर्वाचनमा भारी मतसहित विजयी भएका तामाङ वि.सं. २०७९ मा पाँचदलीय गठबन्धनका कारण पराजित हुनुभएको थियो। तर यसपटक दलहरू छुट्टाछुट्टै प्रतिस्पर्धामा उत्रिएकाले मतदाताको स्वतन्त्र निर्णयले परिणाम फरक हुने अपेक्षा गरिएको छ। स्थानीयहरू खुला रूपमा भन्छन्, “योपटक परिस्थिति उहाँकै पक्षमा छ, जनमत स्पष्ट रूपमा तामाङतिर ढल्किएको छ।”

भ्रष्टाचारविरुद्ध कडा अडान राख्ने नेताका रूपमा परिचित तामाङले सरकारी पदाधिकारीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, स्थानीय उत्पादनलाई कानुनी मान्यता दिँदै प्रवर्द्धन गर्नुपर्ने लगायतका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ। स्वास्थ्य मन्त्री र कानून मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका नीतिगत निर्णयहरूलाई स्थानीयले सकारात्मक रूपमा स्मरण गर्ने गरेका छन्।

सिन्धुपाल्चोक–२ मा सडक सञ्जाल विस्तार, विद्यालय सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, खानेपानी आयोजना र अन्य आधारभूत पूर्वाधार विकासमा उहाँको पहल महत्वपूर्ण रहेको स्थानीयको दाबी छ। “हाम्रो गाउँमा सडक र खानेपानीको काम अघि बढाउन उहाँकै पहल थियो, हामीले प्रत्यक्ष अनुभूति गरेका छौं,” एक स्थानीय अगुवाले बताएका छन्।

सरल जीवनशैली, सालिन व्यवहार र सबैसँग सहज रूपमा घुलमिल हुने स्वभाव तामाङका थप बलिया पक्ष मानिन्छन्। घरदैलोका क्रममा मतदातासँगको प्रत्यक्ष संवाद र समस्याप्रति देखाएको संवेदनशीलताले मतदातामा विश्वास थप बलियो बनाएको देखिन्छ।

अहिले सञ्चालन भइरहेको घरदैलो अभियानमा युवा, महिला, किसान, मजदुरदेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको छ। “यसपटक हाम्रो मत विकास, स्थायित्व र इमान्दारिताका लागि,” भन्दै धेरै मतदाता खुलेर समर्थन जनाइरहेका छन्।

दिनप्रतिदिन सशक्त बन्दै गएको अभियान र बढ्दो जनसमर्थनले सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङको जितको सम्भावना अत्यन्त प्रबल बन्दै गएको संकेत स्पष्ट रूपमा देखिएको छ। चुनावी मैदान तातेका बेला घरदैलोमै देखिएको जनलहरले यसपटकको नतिजा कस्तो आउँछ भन्नेबारे धेरैलाई अनुमान गर्न सजिलो बनाइदिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार