काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–७ का प्रभावशाली समाजसेवी तथा राजनीतिक व्यक्तित्व रामप्रताप यादव नेपाली कांग्रेस परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ।
नेता यादवलाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टी प्रवेशको अवसरमा टीका र खादा लगाएर स्वागत गर्नुभएको हो। काठमाडौंमा आयोजित कार्यक्रममा यादवलाई औपचारिक रूपमा स्वागत गर्दै अध्यक्ष नेपालले पार्टी संगठनलाई थप मजबुत बनाउन यादवको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
रामप्रताप यादव लामो समयदेखि सामाजिक सेवा र स्थानीय राजनीतिक नेतृत्वमा सक्रिय रहनु भएको छ। उहाँको एकीकृत समाजवादी प्रवेशसँगै सर्लाहीको स्थानीय राजनीतिक समीकरणमा नयाँ ऊर्जा थपिएको बताइएको छ। पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय र स्थानीय तहका नेताहरूको पनि उपस्थिति रहेको थियो।