संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्छः मन्त्री गौतम

Nagarik Sewa 4576+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभएको हो। 

पछिल्लो समय संसद्को गुणस्तर खस्किएको जनगुनासोप्रति आत्मसमीक्षा गर्न आग्रह गर्दै उहाँले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन प्रक्रियागत र प्राविधिक विषयहरूलाई सदनबाहिरका अनौपचारिक बैठकबाटै टुङ्ग्याउनुपर्ने बताउनुभयो। ‘अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ,’ उहाँले भन्नुभयो।

मन्त्री गौतमले संसद्को समयलाई जनताका मुद्दामा केन्द्रित गर्नुपर्ने र यसका लागि सांसदहरूले आफ्नो हरेक मिनेटको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। 

जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र त्यसैबाट सांसदहरूको सुविधा चल्ने भएकाले सदनको समय शिक्षा, स्वास्थ्य र जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन खर्चिनुपर्ने उहाँको भनाइ छ। संसद्प्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन र संस्थाको गरिमा उच्च राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता समेत मन्त्री गौतमले व्यक्त गर्नुभयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार