भदौ २३ र २४ मा अपराध गर्नेले सजाय पाउनुपर्छ : गगन थापा

Nagarik Sewa 4816+ समाचार ( )
२४ भाद्र २०८३, बुधवार

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न जोसुकैले पनि कानुनी सजाय पाउनुपर्ने बताएका छन् । बीपी जयन्तीको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने बताएका हुन् ।

“को थियो सिंहदरबार जलाउने ? को थियो अदालत जलाउने ? त्यो दिन त्यत्रो ध्वंश गराउने को थियो ? कसले उकास्यो ? किन आज कोही चुइँक्क बोल्दैन ? किन आज कसैले यसको जिम्मा लिँदैन ? यसको जवाफदेहिता कसैले लिनुपर्दैन ?” थापाले प्रश्न गरे । उनले गल्ती वा अपराध गर्नेले त्यसको सजाय पाउनुपर्ने बताए । आवेशमा अपराध गर्नेले माफी मागेर मात्र उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।

“त्यत्रो राज्य संयन्त्र क्षणभरमा काम नलाग्ने, पंगु कसरी भयो ? हामीले यसको खोजी गर्नु पर्दैन ? आवेशमा जसले अपराध गरेको छ, उसले माफी पाउनुहुन्न, दण्ड पाउनुपर्छ,” उनले भने ।दण्डहीनता कायम रहे समाज न्यायपूर्ण बन्न नसक्ने थापाले बताए । भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनको जोड छ । निर्वाचन हुनेबित्तिकै सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान र छानबिन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यसबारे काम अघि नबढेको थापाको भनाइ छ । उनले अनुसन्धान कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

भदौ २३ गतेको घटनाबारे अध्ययन भइसकेकाले त्यसको पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनले बताए । सरकारलाई घटनाबारे अलमल्याउने काम गर्न नहुने उनको भनाइ छ । थापाले भदौ २३ गते भएको दमनको जिम्मेवारी निर्धारण गरी दोषीलाई सजाय दिनुपर्ने, हिंसा भड्काउने व्यक्तिको पहिचान गर्नुपर्ने र भदौ २४ गते अपराधमा संलग्न भएकाहरूको समेत निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।

“काल पल्किसकेपछि यो–त्यो भन्दैन । आज पीडामा अरू कोही परेको होला, तर अपराध गरेकालाई सजाय दिइएन भने भोलि त्यो पीडा जसले पनि पाउन सक्छ,” उनले भने ।आगो लगाउनेलाई सजाय नदिइए त्यस्तो प्रवृत्तिले प्रश्रय पाउने भन्दै थापाले सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार