काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘थुना म्याद थप’ प्रकरणमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता रमेश बडालले उनलाई थुनाबाहिरै राखेर भदौ २३ र २४ को घटनामा अनुसन्धान गर्न इजलास समक्ष माग गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीको पालामा महान्यायाधिवक्तासमेत रहेका बडालले इजलाससमक्ष उक्त माग राखेका हुन् । उनले जेनजी आन्दोलनका बेला भदौ २३ गते ओलीले गोली चलाउने आदेश नदिएको जिकिर गरे । यो विषय आयोगको प्रतिवेदनमा पनि उल्लेख नभएको दाबी बडालको छ । ‘‘प्रतिवेदनमा मनशायपूर्वक मार्न खोजेको, मार्ने नियत नभएको भनेर आएको छ,’’ जिल्ला न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस गर्दै बडालले भने, ‘‘तत्कालै मान्छे भागेर जाने अवस्थाको विद्यमानता पनि छैन । प्रमाण नष्ट गर्न सक्ने अवस्था पनि छैन । यस्कारण म्याद थप्न पर्दैन ।’’
बडालले ओलीको उमेर र स्वास्थ्य अवस्थाका कारण थुनाबाहिरै राखेर पनि अनुसन्धान हुन सक्ने बताए । उनले जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रही र पक्षपातपूर्ण रहेको जिकिरसमेत लिए ।जेनजी आन्दोलनका बेला एउटै घटनामा केहीको हकमा अनुसन्धान बाँकी राख्ने र कसैलाई भने तत्काल पक्राउ गर्ने काम भएको पनि वरिष्ठ अधिवक्ता बडालले उल्लेख गरे । भदौ २४ को आगजनी, तोडफोड र उपद्रवमा कार्यान्वयन नगर्न भनेको बताए । सरकार र ओली पक्षका कानुनव्यवसायीको सुनुवाइ सकिएर आदेश आउने चरणमा छ ।