काठमाडौं। प्रतिनिधि सभा सदस्य महावीर पुनले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको बताउनुभएको छ।
सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दाबी गर्नुभएको हो। सांसद पुनले सरकारले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताउनुभयो। यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुन सक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न माग गर्नुभयो।
सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि एउटा विज्ञ टोली गठन गर्न लागेको जानकारी पाउँदा आफू उत्साहित भएको बताउँदै उनले उक्त टोलीमा रहेर काम गर्न आफू इच्छुक रहेको समेत जानकारी गराउनुभयो। बाँदर निकै बुद्धिमान जनावर भएकाले यसको व्यवहार र नियन्त्रणका उपायबारे गहन वैज्ञानिक अनुसन्धानविना समस्या समाधान नहुने उहाँको तर्क थियो।