अछाम। बिहीबार अछाम तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा छ। १७ गतेबाट सम्पर्कविहीन उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । प्रहरीका अनुसार किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ।
‘यो घटना संवेदनशील छ, त्यसकारण किशोरीहरूको नाम, ठेगाना भन्न मिल्दैन, घटनाबारे बिहान ९ बजे स्थानीयले देखेपछि जानकारी दिए, त्यहाँको प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलमा पुगेको छ, जिल्लाको टोली पुग्दैछ’ खनालले भने। घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गर्ने उनले बताए ।