काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रमको विकल्प नरहेको बताउनुभएको छ। मुलुकको विकास, समृद्धि, देश तथा पार्टीभित्रको एकताको लागि नेपाली कम्युनिष्ट पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम सबैभन्दा उपयुक्त भएको उहाँको भनाइ छ।
रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा नेपालले यस्तो बताउनुभएको हो। ‘नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैन । देशमा एकता बलियो बनाउन, शान्ति र समृद्धिको दिशामा अगाडि बढाउन, राजनीति र समाजमा देखिएका विकृति विसंगतिलाई समाप्त पार्न नेकपाको विचार र यसले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम नै विकल्प हो । अर्को बाटो छैन,’ उहाँले भन्नुभयो।
नेपालले नेपाली कम्युनिष्ट पार्टीमा दिनदिनै उत्साह थपिएको बताएका नेपालले यसमा एकीकृत हुने दलहरू र नेता–कार्यकर्ताको संख्या पनि बढिरहेको जिकिर गर्नुभयो ।