काठमाडौं। प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाडी व्यवसायीमाथि ज्यादती गरेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सिंहले मेयर शाहले गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताउनुभयो ।
काठमाडौं सबै नेपालीको राजधानी भएको बताउँदै उहाँले संसद् भवन, सिंहदरबार, रामशाहपथको सर्वोच्च अदालत, प्रधानमन्त्रीनिवास बालुवाटार, राष्ट्रपति कार्यालय शीतलनिवास भत्काएर देखाउनसमेत बालेनलाई चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म बालेन शाहलाई चुनौती दिन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ। हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ। हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भवन भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन ।’