‘नो केबलकार समूह’ र प्रहरीको झडपमा २५ जना घाइते

Nagarik Sewa 1733+ समाचार ( )
१३ माघ २०८१, आइतबार

विराटनगर। ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको  ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा परी २५ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएको जानकारी दिए । उनका अनुसार नो केबलकार समूहका घाइते ३ जनालाई नोबेल अस्पताल विराटनगरमा उपचारका लगिएको जानकारी दिए । 

‘करिब ५ः५० बजेको समयमा प्रहरी इन्स्पेक्टर रोहित शर्मालाई एक जना आन्दोलनकारीले ढुङ्गाले मुखमा हान्नु भएको रहेछ । हेलमेट फुटेर उहाँको मुखमा ढुङ्गाले लाग्यो । उहाँको दाँत हल्लिएको छ र मुख सुन्निएको छ । अहिले उपचाररत हुनुहुन्छ,’ शर्माले भने, ‘नेपाल प्रहरीका १२ जना र सशस्त्र प्रहरीका ९ जना घाइते छन् । अधिकांश सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । इन्स्पेक्टरसहित केहीको उपचार भइरहेको छ । गोली लागेर आन्दोलनरत समूहका ३ जनाको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।’ 

आन्दोलनरत पक्षमध्येका यमबहादुर लिम्बू र धर्मान पालुङ्वालाई गोली लागेको हो । आन्दोलनरत पक्षका एक जनाको खुट्टा भाँचिएको आफूलाई जानकारीमा आएको उनले बताए ।

 ‘भाग दौडका क्रममा उहाँको खुट्टा भाँचिएको भन्ने जानकारीमा आएको छ,’ उनले भने । आन्दोलनरत पक्षका १ जना सामान्य घाइतेको उपचार पछि घर फर्किएको उनले बताए । ‘थप केही बिरामी भएको उहाँहरूले भन्नुभएको छ । हामीले उपचार गराउँछौँ । ल्याउनुहोस् भनेका छौँ,’ शर्माले भने । 

अहिले त्यहाँको सुरक्षा अवस्था कडा गरिएको उनले बताए । उनले प्रहरीले सुरक्षा सावधानी अपनाएको कारण नै ठुलो क्षति हुन नपाएको बताए । ‘माथिबाट आन्दोलनकारीले ढुङ्गा बर्साइसकेपछि तल रहेका प्रहरीहरूले गोली चलाउनु परेको हो । आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको हो,’ शर्माले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार