काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तव सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। थापा र शर्माले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए ।

मंगलबार बिहान भएको भेटमा महामन्त्रीहरूको त्यो प्रस्तव देउवाले अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दियो । एजेण्डाबारे महामन्त्रीद्वय र सभापति देउवाबीच कुरा नमिलेपछि केन्द्रीय समिति बैठक सभापति देउवाले आफ्नो वक्तव्य पढेपछि स्थगित गर्ने तयारी भएको छ ।
बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेपछि देउवाले वक्तव्य पढेर बैठक स्थगित गर्ने र एजेन्डा तय गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्ने तयारी छ । देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने बताएका थिए । मंगलबारपछि केन्द्रीय समिति बैठक बिहीबार राख्ने तयारी छ ।