सच्चा कम्युनिष्ट कहिल्यै सत्ताको लोभी हुँदैनन्

Nagarik Sewa 4343+ समाचार ( )
४ जेठ २०८२, शनिबार

कान्ति न्यौपाने । गणतन्त्र जिन्दावाद, लोकतन्त्र जिन्दावाद र राजतन्त्र मुर्दावाद भन्ने चर्को नाराको आवाजले रातको दुई बजे धर्मनाथ शर्मा झल्याँस्स बिउँझिन्छन् । त्यो त उनको सपना मात्र थियो — एक युगको प्रतिध्वनि जस्तै । अचेल उनलाई राजनीतिमा बिताएका ४० औँ दशक सम्झिएर पीडाबोध हुन्छ । आफ्नो जीवनका सबैभन्दा बढी उर्जाशील दशकहरू उनले क्रान्ति र परिवर्तनको नाममा बिताए । जनयुद्धदेखि जनआन्दोलनसम्म, मञ्चदेखि जेलसम्म र कलमदेखि बन्दूकसम्मका अनगिन्ती मोर्चाहरूमा उनले सक्रिय सहभागिता जनाए ।

आन्दोलनका क्रममा खुट्टामा लागेको गोलीको दाग अहिलेपनि आलो जस्तै देखिन्छ । जुन घाउले इतिहासको प्रमाण दिइरहेझैं लाग्छ । तर, ती सबै संघर्ष र बलिदानका बाबजुद पनि सोचेभन्दा उल्टो नतिजा आउँदा उनी दुखितः छन् ।  

जनताको जीवनस्तर उकास्न गरिएका ती कठिन आन्दोलनले एउटा गति लिएपनि सोचेँजस्तो विकास र परिवर्तन हुननसक्दा उनलाई छटपट्टी हुन्छ । जुगाँको रेखी बस्दै गरेको एउटा जवान केटोले कपाल फलिसक्दासम्म परिवर्तनका निम्ती प्रयास गरेपनि केही अवशरवादीहरुले सम्पूर्ण आन्दोलनलाई बेचेर व्यक्तिगत फाइदा लिएपछि उनमा आक्रोशको ज्वाला दन्किन्छ ।

अहिले त उनको कपाल फुलिसक्यो, हातगोडा पुरै चाउरिएर स्फुर्तिका साथ हिँड्न नसक्ने भइसके  । तर, देश बनाउन देखेका सपना, परिवर्तनका लागि गरेको प्रण र जेलमा बिताएका ती कठिन वर्षहरु उनको मानसपटलमा ताजै छन् । युवावस्थाको उर्वर समय उनले माओवादी आन्दोलनको पक्षमा बिताए । कालिकोटदेखि काठमाडौँसम्मका जंगलमा हिँड्दा उनले राजनीतिक भविष्य र गणतन्त्र नेपालको सुनौलो सपना देखे । जनताको भविष्य फेरिएको, शोषणमुक्त समाजको निर्माण भएको र भ्रष्टाचारविहीन समाजको पनि कल्पना गरे । उनले आफैँले नेतृत्व गरेर थुप्रै आन्दोलन सफल बनाएका थिए । उनका चर्का भाषण र भविष्यप्रतिको सपना देखेरै थुप्रै युवाहरु आन्दोलनमा होमिएका थिए । 

परिवर्तनका लागि दशकौँ बिताएको त्यही पार्टीमा उनी केवल ‘आत्मवृत्ति’ मौलाएको देख्छन् । उनी सोँच्छन् ‘त्यहाँ समर्पण होइन, स्वार्थ छ, सिद्धान्त होइन, सत्ता छ, कम्युनिष्टहरुको सत्ता होइन, करदाता शोषकहरूको गठबन्धनका मौलाएको छ ।’ 

उनी सम्झिन्छन् —कसरी उनले कलमको साटो बन्दूक रोजे । कसरी उनले पार्टीको आदर्शका लागि विवाह पनि पछि सारे । सन्तान जन्मिसक्दा पनि घरपरिवारप्रति उनले दायित्व पूरा गर्न सकेनन् । कहिले भूमिगत भएर कर्णालीका दुर्गम गाउँ पुग्थेँ त कहिले समातिएर काठमाडौँको जेलमा । उनले लालबाला सन्तान खेलाउन पाएनन् । 

उनका छोराछोरीले पछिसम्म पनि उनलाई बावु भनेर चिनेनन् । वर्षोपछि भेटिएका छोरीछोरी अगाँल्न जाँदा उनीहरु कसरी तर्सिए । त्यसैले पछिसम्म पनि उनलाई छोराछोरीले बाबा हो भनेर स्वीकार गर्न गाह्रो पर्यो । बहुतै कष्टका साथ घरपरिवार सम्हालेर उनकी श्रीमतीले आजको अवस्थासम्म पुर्याइन् । देश बनाउनका लागि उनीजस्ता सयौँ विद्रोहीहरुले गरेको बलिदानको अपमान भएको सम्झिएर उनी पटकपटक भक्कानिन्छन् । उनलाई यी घटनाक्रम सम्झिएर एक्कासि चिटचिट पसिना आउन थाल्यो । नजिकै रहेको रुमाल तानेर पसिना पुछे र गिलासको पानी एकैसासमा पिए । 

विगतका अनेक तितामीठा सोचहरूले उनीभित्रको त्यही पुरानो धर्मनाथलाई झकझक्याइरहन्छ – जसले रातभर भोकै बसेर आन्दोलनका पर्चा छपाउँथ्यो, जसले आशाको उज्यालो ल्याउने सपना देखेको थियो । जो परिवर्तनका लागि रातभर जागा थियो । तर अहिले ती सपनाहरु झुत्रो बनेको टालो जस्तै भएका छन् – च्यात्तिएको, पुरानो, जसमा आत्मगौरव छैन । जसको अब औचित्य पनि रहेन ।

अनेक सोच्दासोच्दैँ उज्यालो भयो । धर्मनाथले पर्दा उचालेर झ्यालबाट हेरे –बाहिर बिहानको उज्यालो छिप्पिदै थियो । राजधानी सधैँझैँ अस्तब्यस्त देखिनथाल्यो । सडकमा हर्नको चर्को आवाज र मानिस आजतजावत गरेका दृश्य सदाझैँ देखिन थाल्यो । उनी उठ्छन्, फ्रेस भएर चिया पकाउँछन् । चिया पिउँदै पुराना कागजपत्रहरूको थुप्रोबाट एक थान नोटबुक निकाल्छन्—त्यही नोटबुक, जहाँ उनले कुनै दिन जेलमा लेखेका थिए आफ्ना क्रान्तिकारी सपना । सुरुमै थियो —‘सच्चा कम्युनिष्ट कहिल्यै सत्ताको लोभी हुँदैनन्’ । 

त्यही डायरीका पानाहरूमा छन्, जहाँ उनले जनवादी विवाहको आदर्शमा हस्ताक्षर गरेका थिए । बिना तडकभडक कसरी क्रान्तिकारी विवाह हुन्थे । तर, अचेल विवाहमै लाखौँ खर्च गर्ने र देखावटीमै समय बिताउने तिनै साथीहरु देख्दा उनलाई ग्लानि हुन्छ । लाग्छ – परिवर्तनको मूल्य कतिसम्म तिर्नु पर्ने ? के परिवर्तन भनेको केवल किताबमा मात्रै हुने कथा हो ? के हामीले जिन्दगी खर्चेर बनाएको गणतन्त्र यति लाचार र असहाय हुनुपथ्र्यो ? आखिर यी प्रश्नहरुको उत्तर न उनीसँग छ न यसको नेतृत्वकर्तासँग । उनी केहीबेर मौन बस्छन् । 

कुनै बेला सादा कपडा लगाउने ती आदर्शवादी अनुहारहरू अहिले महँगो ब्रान्डका सूटमा छन् । हातमा लाखौँ पर्ने घडी, साथमा महंगा मोबाइल र अघिपछि बिचौलियाबाट उनीहरु घेरिएका छन् । जनताको नाममा गाइएका गीतहरू चुनावी प्रचारको माध्यम मात्रै बनेका छन् ।  उनीहरुले भुइँमान्छेका सपना बेचेर आलिशान बंगला ठड्याएका छन् । 

उनलाई सम्झना आउँछ– ती युवाहरूको, जसले उनको भाषण सुनेर बन्दुक बोके । ती किशोरहरू, जसले विद्यालय छोडे र ‘समाजवाद’ खोज्दै जङ्गल पसे । तर आज ? उनीहरू कुन कुनामा छन्, थाहा छैन । कोही ट्रमा लिएर बाँचिरहेका छन्, कोही मरेर गएको पनि दशकौँ भइसक्यो । आफूलाई टाठाबाठा भन्नेहरु आज नेता बनेर जनतालाई बेचिरहेका छन् । यी सबै प्रवृत्ति देख्दा उनलाई आफ्नो विगतले पीडा दिन्छ । के का लागि मैले क्रान्ति गरे भन्ने प्रश्नले उनलाई कैयौँ रात सुत्न दिदैँन । 

पुरानो डायरी पल्टाउँदै एकोहोरो भएको देखेर धर्मनाथको छोरो नजिकै आएर भन्छ – ‘बाबा, तपाईँको क्रान्तिले हामीलाई के दियो ? तपाईंले सपना त देख्नुभयो, तर कहिल्यै पूरा नहुने ।’ छोराको कुराले फेरि धर्मनाथ झस्किन्छन् । उनीसँग जवाफ छैन । उनले गरेको क्रान्ति र राजनीतिबाट देशमा केही नहुने देखेर २ छोराछोरी उहिल्यै विदेश लागिसके । नेपालमा बस्नेलाई पनि दैनिक जीविका सहज होला भन्ने आशा छैन । 

पुरानो वामपन्थी नेता भन्दै उनलाई अचेल केही पत्रकारहरु अन्र्तवार्ता पनि लिन आउँछन् । केही दिन अघि मात्रै आएका दैनिक पत्रिकाका एक पत्रकारले उनलाई सोधेका थिए— तपाईंको विचारमा अहिलेको कम्युनिष्ट आन्दोलन किन दिशाहीन भयो? उनले केहीबेर सोँचेर जवाफ दिए । हामीले सत्ता कब्जा गर्यौ, तर चेतना कब्जा गर्न सकेनौँ । हामीले जनता त बटुल्यौ, तर जनताको वास्तविक आवाज बुझ्न सकेनौँ । आत्मकेन्द्रित राजनीति पार्टी र सिद्धान्त भन्दा ठूलो भयो । हामीले संकल्प त ठूला गर्यौ, तर उत्तरदायित्व लिने आँट देखाएनौँ । हाम्रा शब्दमा क्रान्ति त थियो, तर, कर्ममा व्यक्तिगत स्वार्थ हाबी भए । 

पत्रकारसँगको कुराकानीले धर्मनाथको मनमा हलचल ल्याउँछ । नयाँ पुस्ताले इतिहास जान्न खोजिरहेको देख्दा उनी आशावादी बन्ने प्रयत्न गर्छन् । 

अबको क्रान्ति राजनीतिक हैन, वैचारिक र सांस्कृतिक हुनेछ । क्रान्तिमा माया, परिवार र मानव सम्बन्धको आदर हुनुपर्छ । जनवादी सम्बन्ध केवल नारा होइन, व्यवहारमा आधारित हुनुपर्छ । सत्ता होइन, सेवा भावको नेतृत्व खडा गर्नु आवश्यक छ । युवा पुस्ताले भ्रष्ट नेताहरूको अनुकरण होइन, प्रश्न गर्न सक्ने साहस राख्नुपर्छ । शान्तिपूर्ण, शैक्षिक र चेतनात्मक अभियानमार्फत नयाँ आन्दोलनको खाका कोर्न सकिन्छ । उनले फेरि सपना देख्छन् । 

सोच्छन्, ‘यो देश परिवर्तनको सपना मैले एक्लैले देखेको थिएन । मैले त आवाज मात्रै दिएको थिएँ । हजारौँ युवाले रगत पसिना बगाएका छन् ।’ फेरि नोट पल्टाउँदै काँपिरहेका हातले नोटबुकमा लेखेः ‘हामीले केवल व्यवस्था बदल्यौं, अवस्था होइन ।’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार