काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई काम गर्न रोक लगाउनुपर्ने मागलाई उच्च अदालत पाटनको हेटौँडा इजलासले अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको संयुक्त इजलासले बुधबार (भदौ १६) मुख्यमन्त्री मगरलाई काम गर्न रोक लगाउनुपर्ने माग अस्वीकार गरेको हो । वाग्मती प्रदेशकी राप्रपा प्रमुख सचेतक कुमारी तामाङले मगरले बहुमत प्राप्त नगरेको दाबीसहित मुख्यमन्त्रीमा रोक लगाउन मागसहित रिट दिएकी थिइन् ।
उनले मुख्यमन्त्रीका कामकारबाहीमाथि रोक लगाउन तत्कालका लागि अन्तरिम आदेशको माग अदालत समक्ष गरेकी थिइन् । थापा मगर गत भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अदालतले मन्त्रिपरिषद् गठन भई कार्य सञ्चालन गरिसकेको अवस्थामा प्रदेशको कार्यपालिकालाई लामो समयसम्म शून्य स्थितिमा राख्दा तत्काल गर्नुपर्ने काम कारबाहीमा प्रत्यक्ष असर पर्न सक्ने आदेशमा जनाएको छ ।
रिट निवेदक तामाङले उठाएका अन्य संवैधानिक र कानुनी प्रश्नहरूको निरूपण अन्तिम फैसलाको समयमा हुने आदेशमा उल्लेख छ । यद्यपि, रिटलाई छिटो निष्कर्षमा पुर्याउनुपर्ने देखिएको भन्दै अदालतले विपक्षीहरूबाट लिखित जवाफ आएपछि अग्राधिकार दिएर सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ ।