पूर्वन्यायाधीश पत्नी रावल पुर्पक्षका लागि जेल चलान

Nagarik Sewa 4646+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध आपत्तिजनक गालीगलौज गरेको आरोपमा साइबर कसूर मुद्दा चलाइएकी आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छिन् । 

रावलविरुद्ध सर्वोच्च अदालतको पत्रअनुसार जाहेरी दर्ता भई गत असार २२ गते साइबर ब्युरो भोटाहिटीले रावललाई माइतीघरबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालविरुद्ध आपत्तिजनक र घृणास्पद शब्द प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको आरोप रावलविरुद्ध लगाइएको थियो ।

 प्रहरी अनुसन्धानबाट रावलकै फेसबुक पेजबाट पोस्ट भएको पुष्टि भएपछि साइबर ब्युरोको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले यही साउन ५ गते अदालतमा मुद्दा दायर गरेको थियो । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले जिल्ला न्यायधीश गिरीलाई सफाइ दिएपछि फैसला गर्ने न्यायाधीशविरुद्ध मनलाग्दी टिप्पणी गर्दै आएको दाबी अभियोगपत्रमा थियो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बुधबार (असार ६) रावललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बाह्रखरीलाई जानकारी दिए । रावल जिल्ला न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन् ।  

सर्वोच्च अदालतको पत्रपछि साइबर ब्युरोले रावललाई असार २२ गते नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । साइबर कसुरमा ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको माग छ । 

काठमाडौं जिल्ला अदालतले रावलले सामाजिक सञ्जालको दुरुपयोग गरी न्यायाधीशहरूको सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अपमान, बेइज्जत, समाजमा घृणा तथा द्वेष फैलाउने कार्य गरेको आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

‘‘निज प्रतिवादीउपरको अभियोगमागदावी लिइएको कसूरको गाम्भीरता समेतका तत्काल प्राप्त प्रमाणहरुबाट अहिले नै यी प्रतिवादी कसुरदार होइन रहेछन् भनी भन्न मिल्ने अवस्था देखिएन,’’ अदालतको आदेशमा उल्लेख छ, ‘‘पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने हुँदा हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७२ को आधारमा दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा पठाई दिनु भनी ऐ. संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ ।’’

सूचना अधिकारी खतिवडाका अनुसार आदेश भएकै दिन रावललाई केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा राख्न पठाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै