काठमाडौं। नेकपा एमालेले पूर्व उपाध्यक्ष समेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि कारबाही गरेको छ । बुधवार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने भएको भन्दै पार्टीको सङ्गठित सदस्यताबाटै मुक्त गरेको जनाएको छ । बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनाल ६ महिनाका पार्टी जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
‘भीम रावल दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकको निर्णय सुनाउँदै भने, ‘सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिँ पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’
पूर्व उपाध्यक्ष समेत रहिसकेका नेता रावलले पार्टी केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरुङबाट लिने निर्णयको पनि आलोचना गरेका थिए ।
पाण्डे र तिमल्सेनाले समयमै स्पष्टीकरण बुझाए पनि रावलले बुझाएका थिएनन् । स्पष्टीकरण दिने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको एमालेले रावललाई भने पार्टी सदस्यताबाटै हटाएको छ । यो सँगै रावलको झन्डै ५ दशक लामो एमालेको राजनीतिमा ब्रेक लाग्न पुगेको छ ।
पाण्डे र तिम्सेनाको हकमा नेता ज्ञवालीले भने,‘उहाँहरूले स्पष्टीकरण त दिनु भयो, तर उहाँहरूले यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रूपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन । त्यसकारण उहाँहरूलाई पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै ६ महिनाका पार्टी जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’