काठमाडौं। गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा फरार भएका ९ हजार ४४१ कैदीबन्दी फिर्ता भएका छन्। फरार १४ हजार ५५४ कैदीबन्दीमध्ये बाँकी ५ हजार १३ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उहाँले यस्तो जानकारी गराउनुभएको हो।
फरार कैदीलाई नियन्त्रणमा लिनका लागि सम्बन्धित निकायहरूमा परिपत्र भइसकेको उहाँले बताउनुभयो। साथै फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन विशेष अपरेसन चलाउने पनि उहाँले बताउनुभयो। गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको जानकारी दिए । साथै २४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ परेको र विभिन्न कसुरमा १६८ वटा मुद्दा दर्ता भएको उनले बताए ।