महानगरपालिकाकी उपप्रमुख डंगोलद्वारा संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन जनप्रतिनिधिलाई अपिल

Nagarik Sewa 4376+ समाचार ( )
२३ आश्विन २०८२, सोमबार

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गर्नुभएको छ । ‘वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ उहाँले आज सार्वजिनक गरेको सन्देशमा लेखिएको छ ।

मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख कार्यकारी अधिकृत बीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले संविधानले तोकिदिएको मिति असार १० बजे आर्थिक वर्ष २०८२र८३ को बजेट ल्याउन सकेको छैन । आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मेयर बालेनलाई बोलाएर यसबारे छलफल समेत गर्नुभएको थियो।

त्यसको भोलिपल्ट उपमेयर डंगोलले बजेट ल्याउनका लागि खुला छलफल गर्न र हातेमालो गरी अघि बढ्न अपिल गरेकी छन् । ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौं । हामी सबै हातेमालो गरेर अघि बढौं,’ डंगोलको भनाइ छ ।

कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्छ । तर आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक माक्रै होइन, बजेट तर्जुमा तथा कार्यत्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न नसकेको भन्दै उपमेयर डंगोलले सकारात्मक प्रयासका लागि आग्रह गरेकी हुन् ।

उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्‍याउनु हुँदैन भन्ने कुरालाई पनि जोड दिनुभएको छ । ‘यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छ,’ उहाँले भन्नुभएको छ, ‘तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन्। कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु। प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा  जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ।’

आफूहरुलाई काठमाडौं महानगरबासीले जनहितमा काम गर्न भनेर निर्वाचित गरेको बताउँदै यदि बजेट ल्याउन नसके महानगरबासीलाई धोका हुने उपमेयर डंगोलले उल्लेख गर्नुभएको छ । ‘हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौं । जनताले हामीलाई यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएका हुन् । हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिएको ठहरिने छ,’ उहाँको सन्देशमा लेखिएको छ ।

आइतबार मात्रै आफूले मेयर, प्रवक्ता तथा केही कार्यपालिका सदस्यहरुसँग अनौपचारिक भेटघाटमा समेत बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा छलफल गर्दा सकारात्मक संकेत पाएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार