काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।सोमबार झापामा आयोजित पार्टीको कोसी प्रदेशस्तरीय भेलामा ओलीले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिए ।
"गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरू बनाउनुहोस् । र, नेशनल भोलेन्टियर्स फोर्स बनाउनका लागि पार्टीलाई सहयोग गर्नुस्," ओलीले भने, "चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर कम्तिमा निर्माण गर्नुहोस् । र, त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढनुहोस् ।" निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पनि नेता-कार्यकर्तालाई उनले निर्देशन दिए । स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर्स फोर्सहरूले पार्टीको निर्णय र निर्देशनअनुसार काम गर्ने भएकाले उनीहरूलाई सोहीअनुसार परिचालन हुने वातावरण बनाउनुपर्ने बताए ।
"स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन । आफ्नै ढंगले जनसंगठनलाई चल्न दिनुपर्दछ । तर, भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णयहरू, निर्देशनहरूसँग टकराएर काम गर्दैन," ओलीले भने । अध्यक्ष ओलीले देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्न पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्नुपरेको दाबी गरे ।