काठमाडौं। शुक्रबार दिउँसो म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार ६ सय पुगेको छ । ३ हजार ४०८ जना गम्भीर घाइते भएका छन् । धेरै मानिसहरू बेपत्ता छन् ।
म्यानमारमा २०२१ देखि सैनिक शासन छ । त्यसयता त्यहाँ गृहयुद्ध पनि चर्किएको छ । भूकम्पले क्षतिग्रस्त भएपनि सत्तामा रहेको सेनाले विपक्षी सशस्त्र समूहमाथि ड्रोन र रकेट हमला गरिरहेको छ ।
मुख्य सहरमा बिजुली र इन्टरेन्ट पूर्ण रूपमा अवरूद्ध हुँदा समन्वयमा पनि समस्या भएको छ । भूकम्पले थाइल्याण्डमा पनि क्षति पुगेको छ ।
बैंककमा निर्माणधीन ३० तले भवन ढल्दा त्यहाँ कार्यरत मजदुरहरू पुरिएका छन् । तीमध्ये केही मजदुरहरू अझै जिवितै रहेको र उद्धारको प्रयत्न भइरहेको बिबिसीले उल्लेख गरेको छ ।
शुक्रबार दिउँसो तीन बजे ७.७ म्याग्नेच्युडको भूकम्प गएपछि ६.२ म्याग्नेच्युडको अर्को परकम्प गएको थियो ।