काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन कानुन अनुसार भएको बताउनुभएको छ। लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् ।
सभामुख भेट्न मंगलबार सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा पुगेका रास्वपा सभापति लामिछानेलाई घिमिरेले भने, ‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु जे गरेको छु ।’
भेटमा लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको बताए । सांसद पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्रै निलम्बन हुन सक्ने प्रावधान रहेको पनि लामिछानेले सभामुखलाई स्मरण गराए ।
जवाफमा सभामुख घिमिरेले आफूले कानुन अनुसार नै जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने र सांसद पद निलम्बन गर्ने प्रवृत्ति गलत रूपमा विकास हुन सक्नेतर्फ आफू समेत चिन्तित रहेको उहाँले बताउनुभयो । तथापि, आफूले कानुन बाहिर गएर केही नगरेको पनि सभामुख घिमिरेले बताउनुभयो ।
लामिछानेले यो विषयमा राजनीतिक दलहरूसँग संवाद गर्न सभामुख घिमिरेलाई सुझाउनुभयो। सभामुखसँगको भेटपछि लामिछानेले पत्रकारहरुसँगको कुराकानीमा पनि यही विषय राखेका थिए । उनकाअनुसार सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइने र सांसद पदबाट निलम्बन गरिदिने प्रवृत्ति बढे सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना समेत रहन्छ । यो विषयमा सभामुखले आफू चिन्तित रहेको बताएका छन् ।
लामिछानेको यो विषयमा सदनमै छलफल चलाउन समेत माग छ । उनले आफूले सांसद पद निलम्बनको अवस्थाबारे सदनमा छलफल गर्ने प्रस्ताव राखेको बताए ।
‘एक पटकमा कतिजनासम्मलाई निलम्बन गर्न पाउने हो रु किनभने मुद्दा टेकाइदिए त पुग्यो, मुद्दा किनारा लाग्न कति वर्षौं लाग्छ सबैलाई थाहा छ’ लामिछानेले पत्रकारहरूसँग भने, ‘यो सरकारले विपक्षी पार्टीको मात्रै होइन, आफ्नै पार्टीभित्र प्रतिस्पर्धी छ भने त्यसलाई पनि यो हतियार प्रयोग गर्नसक्ने भयो ।’