काठमाडौं । तेस्रोलिङ्गी महिला नुमा लिम्बुले ब्लु डायमन्ड सोसाइटी (BDS) बाट पटक–पटक सूचना माग्दा पनि उपलब्ध नगराएपछि सूचना अधिकार ऐन, २०६४ अनुसार राष्ट्रिय सूचना आयोगमा औपचारिक दरखास्त दर्ता गरेकी छन् ।
लिम्बुले माग गरेको सूचनामा पछिल्ला पाँच वर्षका साधारण सभा (AGM) कार्यवृत्त, बोर्ड बैठकका कार्यवृत्त, वार्षिक लेखापरीक्षण प्रतिवेदन, कर्मचारी तलब विवरण, परामर्शदाता नियुक्ति तथा पारिश्रमिक विवरण, दातृ निकायहरूसँग भएका सम्झौता, मुख्य खरिद प्रक्रिया र विवरण, साथै नियुक्त तथा बर्खास्त भएका कर्मचारीहरूको तथ्यांक र निर्णय प्रक्रिया समावेश छन् ।
उनले बारम्बार माग गर्दा पनि ब्लु डायमन्ड सोसाइटीले सूचना दिन अस्वीकार गरेको र संस्थापक अध्यक्ष सुनील बाबु पन्तसँगको भेटवार्ताबाट पनि समाधान नभएको बताएकी छन् । लिम्बुको भनाइमा, “GSM समुदायका अधिकारका लागि काम गर्ने संस्था भएर पनि बहिष्कार, अपारदर्शिता र एकाधिकार प्रवृत्ति अपनाउनु असंगत छ।”
लिम्बुले माग गरेका विवरणहरू सार्वजनिक हित, पारदर्शिता र यौनिक तथा लैङ्गिक अल्पसंख्यक (GSM) समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक भएको उल्लेख गरेकी छन् ।
राष्ट्रिय सूचना आयोगमा पेस गरिएको दरखास्तमार्फत उनले १५ दिनभित्र माग गरिएका विवरण उपलब्ध गराउन आग्रह गरेकी छन् । समयमै सूचना नआएमा सूचना अधिकार ऐन, २०६४ को धारा ७ र ३२ बमोजिम आयोगमार्फत कानुनी कारबाहीको माग गर्ने अधिकार सुरक्षित रहने चेतावनी पनि दिएकी छन् ।