अपराह्न ४ बजेदेखि एमालेको मतदान सुरु हुने

Nagarik Sewa 4397+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेकपा एमालेको नेतृत्व छनोटका लागि महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ। विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ। 

दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए। पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी गरी ३५१ जना नयाँ नेतृत्व चुनिँदैछन् ।

चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै पक्षका गरी करिब सात सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने उनले स्पष्ट पारे।

‘दुवै पक्षका गरेर लगभग सात सय जना उम्मेदवार हुनुहुन्छ । साक्षर भएका प्रतिनिधिले आफ्ना उम्मेदवारलाई चिन्नुहोला र अलि छिटो होला । साक्षरता नभएका उम्मेदवारलाई राम्रोसँग नचिनेका प्रतिनिधिलाई अलि बढी समय लाग्छ । जसले पढेको छ, उम्मेदवारलाई राम्रोसँग चिनेका छन्, उसले २० मिनेटमा पनि सक्नुहुन्छ । ढिलो गर्नेले ४०–४५ मिनेट लागेको हाम्रो पहिलाको अनुभव छ’, उनले भने ।

मतदान गर्ने समय लम्बिनुको मुख्य कारण उम्मेदवार धेरै भएको र प्रतिनिधिको साक्षरता भएको पाण्डेले बताए। उनले भने, ‘प्रतिनिधिले सबै उम्मेदवारको नाम पढ्नुहुन्छ । मेशिनमा फोटो आउँछ । त्यसमा छुट्टा छुट्टै प्यानल आउँदैन । त्यसकारण यी सबै कुरालाई ध्यान दिँदा औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरेका छौँ ।’

करिब ४० मिनेटमा ८० जनाले एक पटकमा मतदान गर्न सक्ने भएकाले कम्तीमा १८ घण्टा समय लाग्ने उनको भनाइ छ ।मतदान सम्बन्धमा नेतृत्वबाट कुनै रोक्ने आदेश भएन भने आज रातभरीमा मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम सार्जजनिक हुने पाण्डेले बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार