नयाँ दिल्ली। भारतमा मजाक र निराशाबाट जन्मिएको जेनजी राजनीतिक अभियान कक्रोच जनता पार्टी (सीजेपी)का समर्थकहरूले भारतका शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै राजधानी नयाँ दिल्लीमा धर्ना जारी राखेका छन् । प्रहरीको निर्देशनको अवज्ञा गर्दै प्रदर्शनकारीहरू सडक र फुटपाथमै रात बिताइरहेका छन् ।
जुन महिनाको चर्को गर्मीका बिच सुरु भएको प्रदर्शनमा दोस्रो दिन थप युवाहरू सहभागी भएका छन् । आन्दोलनका नेता अभिजित दिपके भारत फर्किएर सामाजिक सञ्जालमा सीमित आन्दोलनलाई सडकमा ल्याएका छन् । भारतको १ अर्ब ४० करोड जनसङ्ख्यामध्ये झन्डै आधा २५ वर्षमुनिका छन् ।
पछिल्ला वर्षहरूमा परीक्षा प्रश्नपत्र चुहावट, नतिजामा देखिएका त्रुटि तथा अनियमितताले विद्यार्थी र युवाहरूमा व्यापक असन्तोष सिर्जना गरेको छ । यही क्रोध र असन्तोषलाई आधार बनाएर कक्रोच जनता पार्टीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेको छ ।
यो आन्दोलन सुरुमा सामाजिक सञ्जालमा व्यङ्ग्य र मजाकका रूपमा देखापरेको थियो । मे महिनामा भारतका प्रधानन्यायाधीशले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गरेको भनाइप्रति व्यापक असन्तोष व्यक्त भएपछि दिपकेले सामाजिक सञ्जाल एक्समा ‘यदि सबै कक्रोचहरू एकजुट भए भने के होला ?’ भन्ने टिप्पणी गरेका थिए । उक्त पोस्ट केही समयमै भाइरल बन्यो ।
त्यसपछि दिपकेले आन्दोलनको आधिकारिक वेबसाइट सुरु गरे र यसको इन्स्टाग्राम फलोअर सङ्ख्या २ करोड २० लाखभन्दा बढी पुगेको बताइएको छ । यो सामाजिक सञ्जालमा भारतको सत्तारुढ दलको फलोअर भन्दा बढी रहेको दाबी गरिएको छ । जुन ६ मा नयाँ दिल्लीमा पहिलो प्रदर्शन गरेपछि दिपकेले आन्दोलनलाई मुम्बई, बेंगलुरु र नागपुरलगायत सहरहरूमा पनि विस्तार गरेका छन्, जहाँ सयौँ युवाहरू सहभागी भएका छन् । एजेन्सी