काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने योजनालाई निरन्तरता दिएको । एनसेलले विभिन्न १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । यसले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई थप बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ ।
योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन् । अब भोल्टेको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्छ । देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि कम्पनीले फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकलाई भ्वाइस र डेटामा थप गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउनेछ ।
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजनाअन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढि टावरहरूमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दै छ । कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोसी प्रदेशका तीन जिल्लाका विभिन्न स्थानीयतहहरूमा थ्रीजी बन्द गरेको थियो ।
थ्रीजी सेवा बन्द हुने स्थानको सूचीमा कोसी प्रदेशको उदयपुर जिल्लाका त्रियुगा, चौदन्डीगढी, वेलका, कटारी, संखुवासभाका चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाका पाख्रीबास, साँगुरीगढी, भोजपुरका टेम्केमैयुङ र अरुणलगायत स्थानीय तह रहेका छन् । मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोसी र कन्चनरुप, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायत स्थानीय तहमा थ्रीजी बन्द हुनेछ ।
लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायत स्थानका साथै वाग्मती प्रदेशको मकवानपुरका हेटौँडा, बकैया, मनहरी र राक्सिराङजस्ता स्थानीय तहहरूमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ । यो सेवा बन्द भए पनि ग्राहकले भोल्टेको फाइदा लिन सक्छन्, जसमा एकै समयमा भ्वाइसका साथै मोबाइल ब्रोडब्यान्ड सेवा अहिलेकै शुल्कमा प्रयोग गर्न सक्नेछन् ।
भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रूपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ । भोल्टे सक्रिय भएपछि ग्राहकहरूले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।
आफ्नो फोरजी नेटवर्कमार्फत एनसेलले देशैभर भोल्टे सेवा पुर्याइसकेको छ । भोल्टे प्रविधिको लाभ उठाउन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्छ । कुनकुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छलगायत जानकारी एनसेलको वेबसाइट र एनसेल एपमार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ ।