काठमाडौं । गोठाटार समाजले 'जिवनको लागि रक्तदान' भन्ने मूल नारासहित कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा शनिबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्व, स्थानीय सरोकारवाला, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा करिब ६० जना सेवाग्राहीहरूले रक्तदान गरेका छन्। रक्तदानमा सहभागि भएकामध्ये विभिन्न उमेर समूहका महिला तथा पुरुषहरू रहेका थिए। आयोजकले युवाहरूमा रक्तदानप्रतिको जागरूकता बढ्दै गएको र यसले मानव जीवन बचाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
समाजका पदाधिकारीहरूले रक्तदानलाई मानव सेवा र परोपकारी भावना प्रसार गर्ने महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै यसलाई निरन्तर अभियानका रूपमा अघि बढाइने प्रतिवद्धता जनाए। कार्यक्रममा रक्तदानकर्तालाई प्रमाणपत्र वितरण गरिनुका साथै समाजसेवामा निरन्तर योगदान पुर्याउने सबैलाई आभार व्यक्त गरिएको थियो।
स्थानीय बासिन्दा तथा सरोकारवालाले गोठाटार समाजको यस पहललाई स्वागत गर्दै यस्ता कार्यक्रमले एकता, सहयोग र मानवतावादी भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।