बुटवल। रुपन्देहीमा तिलोत्तमा नगरपालिका–५ प्रेमनगरमा एउटै घरबाट २३ वटा, बुटवल ११ देवसिद्धचोकको एउटै घरबाट ८ वटा र देवदह ८ टटेराको एउटै घरमा ९ वटा गोमन सर्प भेटिएका छन्। रुपन्देहीमा विषालु प्रजातिको गोमन सर्प (कमन कोब्रा) को बिगबिगी देखिएको हो।
सर्प उद्धारकर्ताका अनुसार एउटै घरबाट यति ठूलो संख्यामा विषालु सर्प गोमन भेटिएको रुपन्देहीमा पहिलोपटक हो। तिलोत्तमा प्रेमनगरका डिलाराम अर्याललाई भान्सा कोठामा खाना पकाउँदै गर्दा सर्पले डसेर अस्पताल भर्ना भएपछि घरमा सर्प खोजतलासका क्रममा तीन दिनमा २३ वटा गोमन भेटिएका थिए ।
भान्सा कोठामा केही भाग फुटेको देखेपछि सर्प उद्धारकर्तालाई बोलाएर हेर्दा पहिलो दिन ५ वटा र दोस्रो दिन दिनभर खोज्दा थप १२ वटा सर्प भेटिएका थिए । तेस्रो दिन पनि खोजी गर्दा थप ६ वटा गरी २३ वटा सर्प फेला पारेर उद्धारकर्ताले जंगलमा लगेर छाडेका थिए ।
उक्त घटना लगत्तै बुटवल ११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिए । विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता विशाल पाण्डे बताउँछन् ।
दुबै ठाउँमा भेटिएका सर्पलाई तिलोत्तमा १ का विशाल पाण्डे र उनको टिमले घरबाट निकालेर जंगलमा लगेर छाडेका छन् ।तिलोत्तमा पछि देवदह नगरपालिका ८ टटेरामा प्रेम खत्रीको घरमा मंगलबार ९ वटा गोमन सर्प भेटिए । त्यहाँ पनि विशाल पाण्डे र उनको टिमले सर्पलाई समाएर जंगलमा पुर्याएर छाडे । बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर–घर आउन थालेको सर्प उद्धारकर्ता विशाल पाण्डे बताउँछन् ।